१७ पुष, काठमाडौं । नेपालको पर्यटन क्षेत्रका लागि सन् २०२५ उत्साहजनक वर्ष सावित भएको छ, जहाँ १० लाखभन्दा बढी विदेशी पाहुनाहरूले नेपालको भ्रमण गरेका छन् ।
अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार उक्त वर्ष कुल १० लाख १५ हजार ३७८ विदेशी पर्यटकहरू नेपाल भित्रिएका हुन् । सोही अवधिमा नेपाल भ्रमण सकेर ९ लाख ८२ हजार ५६१ जना विदेशी नागरिकहरू स्वदेश फर्किएको देखिन्छ । नेपाल भित्रिने विदेशीहरूमा ठूलो हिस्सा घुमफिर र पर्यटकीय उद्देश्यले आउनेहरूको रहे पनि विभागले पर्यटक भिसाका अतिरिक्त श्रम, अध्ययन लगायतका १० विभिन्न विधामा भिसा उपलब्ध गराउँदै आएको छ ।
पर्यटनमा सुधार देखिए तापनि सोही वर्ष विदेशिने नेपालीहरूको संख्या भने निकै उच्च रहेको पाइएको छ । तथ्यांकअनुसार सन् २०२५ मा १५ लाखभन्दा बढी नेपाली नागरिकहरू विभिन्न प्रयोजनका लागि विदेश उडेका छन् । विशेषगरी रोजगारीको खोजी र उच्च शिक्षा हासिल गर्ने उद्देश्यले नेपाली युवाहरूको ठूलो जमात बाहिरिएको देखिएको हो ।
यसरी एकातिर विदेशी पर्यटकको आगमनले मुलुकको पर्यटन क्षेत्रमा उत्साह भरेको छ भने अर्कोतिर जनशक्तिको बढ्दो विदेश पलायनले देशको सामाजिक–आर्थिक अवस्थामा मिश्रित संकेतहरू देखाएको छ ।















