२६ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज नेपालका २६ जिल्लामा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। यसमा काठमाडौँ उपत्यकाका जिल्लाहरू पनि समावेश छन्।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज बिहान कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब भने सतर्कता तहभन्दा तलै छ।
कुन–कुन जिल्लामा जोखिम?
आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ। यसैगरी, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालिकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।
उल्लेखित यी २६ जिल्लालाई पहेँलो रङ ‘एल्लो अलर्टमा राखिएको छ र महाशाखाले ती जिल्लाका खोला तथा नदीले भेट्ने स्थानमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन सुझाव दिएको छ।

















