Logo

३१ असार, काठमाडौँ । राजसंस्था पुनर्स्थापना अभियानलाई अघि बढाउँदै आएको ‘संयुक्त जनआन्दोलन परिचालन समिति’ले अब आन्दोलनलाई नयाँ स्वरूपमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।

संयोजक नवराज सुवेदी पूर्ववत् पार्टी जिम्मेवारीमा फर्किएपछि समितिले आन्दोलनलाई ‘साझा स्वतन्त्र नागरिक आन्दोलन’का रूपमा अगाडि बढाउने निर्णय गरेको हो ।

समितिका प्रवक्ता स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा सुवेदीको बहिर्गमनपछिको अवस्थालाई स्वाभाविक रूपले लिँदै आन्दोलन अब स्वतन्त्र संयोजनमा अघि बढाइने जनाइएको छ।

‘राजसंस्था पुनर्स्थापना सबै नागरिकको साझा आकांक्षा हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो अभियान राजा चाहनेहरू मात्र होइन, आलोचकहरूलाई पनि सम्बोधन गर्ने गरी अघि बढ्नेछ ।’

समितिले आन्दोलन रोकिने नभई नयाँ चरणमा प्रवेश गर्ने उल्लेख गरेको छ। विभिन्न राजनीतिक दल, अभियान र नागरिक समूहहरूसँग संवाद भइरहेको र छिट्टै पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरिने जानकारी दिइएको छ। आन्दोलनलाई स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सशक्त बनाउने उद्देश्यले संरचना विस्तारको योजना पनि सार्वजनिक गरिएको छ ।

समितिले आन्दोलन शान्तिपूर्ण, सृजनशील र प्रविधिमैत्री बनाइने जनाएको छ। सम्भावित दमनका सूचना प्राप्त भएको भन्दै सशक्त तर अहिंसात्मक ढंगले अभियान सञ्चालन गरिने उल्लेख छ ।

देशको स्थायित्व, एकता र समृद्धिको आधारका रूपमा राजसंस्थालाई पुनर्स्थापना गर्नु आवश्यक रहेको भन्दै समितिले अभियानप्रति सबै देशभक्त नागरिकको समर्थनको आह्वान समेत गरेको छ ।


सम्बन्धित समाचार