२४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दलहरूको सहभागिता रहेको थियो।
बैठकले पछिल्लो समय देशभर फैलिएको जेनजी आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आन्दोलनमा संलग्न युवामाथि सरकारले दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, “सरकारले युवाहरूको आक्रोश बुझ्न सकेन, सम्बोधन गर्न चाहेन, जसको परिणाम अहिले देखिएको आन्दोलन हो। उनीहरूको माग जायज छन्, र प्रतिपक्षी दलको तर्फबाट संवादको माध्यमबाट निकास दिन हामी प्रतिबद्ध छौं।”
उनले थपे, “युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्नु बेठिक हुनेछ। सरकारबाटै ठूलो नरसंहार भएको छ भन्ने गम्भीर आरोप उठेको छ, त्यसैले सत्यतथ्य छानबिन गर्न आयोग गठन गरिनुपर्छ र दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो।”
बैठकमा सहभागी दलहरूले आन्दोलनरत युवाहरूसँग संवादमार्फत समाधान खोजिनुपर्नेमा जोड दिएका छन्। साथै, राज्य संयन्त्रको दुरुपयोग गरेर दमन गर्न खोज्ने प्रवृत्तिको कडा आलोचना गरिएको छ।
















