२४ भदौ, काठमाडौं । हालै चर्किएको Gen Z आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै खानेपानी तथा सरसफाइ मन्त्रीले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
मन्त्रीले सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै भनेका छन्,”प्रिय युवा भाइबहिनीहरू, तपाईंहरू नै मेरो प्रथम सहयोगी, मेरो जोश र ऊर्जाका सूत्रधार हुनुहुन्छ।”
“हिजो Gen Z युवा पुस्ताले उठाएको आवाजलाई म पूर्ण समर्थन गर्दछु। सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गरेको दमन निन्दनीय छ। त्यसको विरोधस्वरूप म मेरो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिन्छु।”
मन्त्रीले आफ्नो राजीनामा भावनात्मक र जिम्मेवार अभिव्यक्तिका साथ सार्वजनिक गरेका छन्। उनले आन्दोलनरत युवाहरूलाई संयमता अपनाउन पनि आग्रह गरेका छन्। “हामी सबैले संयमता अपनाई युवा पुस्तालाई सहि मार्गदर्शन दिन र सहयोग गर्नुपर्ने आवश्यकता छ,” मन्त्रीको भनाइ छ।
सरकारभित्रैबाट असहमति सार्वजनिक
यो राजीनामा सरकारभित्रकै पहिलो खुला असहमतिको अभिव्यक्ति मानिएको छ। आन्दोलनका विषयमा सत्तारूढ गठबन्धन र मन्त्रिपरिषद् मौन रहँदा मन्त्रीको यो कदमले सरकारभित्रको चपेटा र नैतिक दबाब झनै बढाउने विश्लेषणहरू भइरहेका छन्।
हालसम्म Gen Z आन्दोलनमा १९ जनाको मृत्यु, सामाजिक सञ्जाल बन्द, तथा व्यापक दमन भएको घटनाले सरकारको व्यापक आलोचना भइरहेको छ।
युवाप्रति आग्रह, सरकारप्रति चेतावनी
मन्त्रीको राजीनामाले आन्दोलनप्रति एक प्रकारको नैतिक समर्थन दिएको देखिएको छ भने अर्कोतर्फ सरकारलाई तत्काल संवाद र समाधानतर्फ उन्मुख हुन दबाब पनि सिर्जना गरेको छ।
राजीनामा दिँदै मन्त्रीले राजनीतिक दल, अभिभावक वर्ग र राज्य संयन्त्रलाई युवाप्रति संवेदनशील र उत्तरदायी बन्न आह्वान गरेका छन्।
















