२४ भदौ,वीरगञ्ज । देशभर चर्किरहेको जेनजी आन्दोलनको लहरबीच कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा नेपाली कांग्रेसका नेता अजय चौधरीको वीरगञ्जस्थित निवासमा मंगलबार तोडफोड भएको छ।
स्थानीय स्रोतका अनुसार प्रदर्शनकारीहरूको एक समूहले मन्त्री चौधरीको घर अगाडि नाराबाजी गर्दै ईँटा र ढुंगा प्रहार गरेका थिए। घरको गेट र झ्यालमा क्षति पुगेको बताइएको छ। तोडफोडपछि प्रहरीको ठूलो टोली घटनास्थलमा परिचालन गरिएको छ।
यसअघि सोमबार प्रहरीद्वारा गोली चलाउँदा १९ जना युवाको मृत्यु भएपछि देशभर आक्रोशित प्रदर्शन तीव्र भएको छ। सरकारको मौनता, दमनको शैली, र नागरिकको आवाजलाई दबाउने प्रयासको विरुद्धमा युवा पुस्ता सडकमा उत्रिएको छ।
राजनीतिक नेतृत्व र सत्तारूढ दलहरूको शीर्ष नेताहरूको घर तथा कार्यालयहरू प्रदर्शनकारीहरूको निशानामा परिरहेका छन्। वीरगञ्जमै यसअघि एमाले पार्टी कार्यालयमा पनि आगजनी भएको थियो।
सुरक्षा अवस्था तनावग्रस्त
वीरगञ्जमा अहिले उच्च सतर्कता अपनाइएको छ। प्रमुख राजनीतिक व्यक्तित्वहरूको सुरक्षा बढाइएको छ। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि थप सुरक्षाकर्मी खटाएको छ।
सरकारको प्रतिक्रिया अझै आउन बाँकी
युवाहरूको चर्को विरोधका बीच सरकारको आधिकारिक प्रतिक्रिया अझै सार्वजनिक भएको छैन। आन्दोलनमा परी ज्यान गुमाएका नागरिकप्रति शोक र जिम्मेवारी नदेखाएको भन्दै सरकारले थप आलोचना खेपिरहेको छ।
















