Logo

२४ भदौ,जनकपुरधाम । जनमत पार्टीका संघीय अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। देशभर चर्किएको जेनजी आन्दोलन, राज्यद्वारा गरिएको दमन, र सरकारको मौनतालाई ध्यानमा राख्दै यस्तो निर्देशन आएको जनाइएको छ।

जनमत पार्टी स्रोतका अनुसार, अध्यक्ष राउतले मुख्यमन्त्री सिंहसँग टेलिफोन संवाद गर्दै, “वर्तमान परिस्थितिमा सरकारमा बसेर चुप लाग्नु नै अन्यायको साथमा उभिनु हो,“ भन्दै तत्काल नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।
देशभर फैलिएको न्भल श् आन्दोलनप्रति समर्थन जनाउँदै जनमत पार्टी भित्रैबाट सरकारमा सहभागिता पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेको थियो। सोमबारको प्रदर्शनमा १९ जना युवाको ज्यान गएपछि राजनीतिक दलहरूभित्र नैतिक प्रश्न उठ्न थालेका छन्।

मुख्यमन्त्री सिंह हाल जनमत पार्टीको तर्फबाट मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्। अध्यक्ष राउतको निर्देशनपछि अब उनी राजीनामा दिने कि नदिने भन्ने चासो बढेको छ।

प्रदेश सरकारमाथि पनि दबाब

सामाजिक सञ्जाल बन्द, प्रहरी दमन, र शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोगपछि संघीय सरकारमात्र होइन, प्रदेश सरकारहरू पनि आलोचनाको घेरामा आएका छन्। विभिन्न प्रदेशमा मन्त्रीहरूले राजीनामा दिन थालेको सन्दर्भमा जनमत पार्टीले पनि स्पष्ट अभिव्यक्ति दिन थालेको हो।

पछिल्लो केही दिनयता खानेपानी मन्त्री प्रदीप यादव, कृषि मन्त्री रामनाथ अधिकारी, र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका वा दिने तयारी गरेका छन्। अब मुख्यमन्त्रीको राजीनामा आएमा प्रदेश तहसम्म फैलिएको असहमतिको ठूलो संकेत मानिनेछ।


सम्बन्धित समाचार