२४ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देशभर चर्किएको जेनजी आन्दोलनका प्रदर्शनकारीहरूलाई हिंसा र तोडफोडका कार्य रोक्न अपिल गरेका छन् । उनले सार्वजनिक सम्पत्तिहरूको सुरक्षा गर्न पनि आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै मेयर साहले अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने समय आएको बताउँदै सेना प्रमुखसँग वार्ता गर्न तयार रहन प्रदर्शनकारीहरूलाई आग्रह गरेका छन् । तर त्यसका लागि सबैभन्दा पहिले संसद विघटन हुनुपर्ने उनको भनाइ छ ।
मेयर साहको यो अपिल हालै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको र सुरक्षा निकायले राजनीतिक संवादका लागि आह्वान गरेको परिस्थितिपछि आएको हो ।
















