Logo

२६ भदौ,वीरगञ्ज । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले कफ्र्यू र निषेधाज्ञाको आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम यो आदेश जारी गरिएको जानकारी दिएका हुन्।

कफ्र्यू दैनिक बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म लागू हुनेछ। निषेधाज्ञा दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म र अपरान्ह ५ बजेदेखि साँझ ७ बजेसम्म रहनेछ।
यो आदेश पूर्वमा बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म लागू हुनेछ।

कफ्र्यूको समयमा एम्बुलेन्स, दमकल, शववाहन, फोहोर बोक्ने गाडी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी साधनलाई छुट दिइनेछ। यसबाहेक, पर्यटक, मानवअधिकारकर्मी, कूटनीतिक नियोग, नेपाल विद्युत प्राधिकरण, खानेपानी, दूध बोक्ने गाडी र हवाई टिकट भएका यात्रुहरूलाई पनि सुरक्षाकर्मीले सहज रूपमा आवतजावत गर्न दिनेछन्।

निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामान खरिद गर्न र सामान्य आवतजावत गर्न पाइनेछ। तर, यस अवधिमा ५ जना वा सोभन्दा बढी व्यक्ति जम्मा हुन वा कुनै पनि किसिमको सभा, जुलुस, भेला र प्रदर्शन गर्न पाइने छैन। आदेशको उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।


सम्बन्धित समाचार