२८ भदौ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज शनिबार (२०७५ साल भदौ २८ गते) देखि लागू हुने गरी निषेधाज्ञा र कफ्र्यू आदेशको समय हेरफेर गरेको छ। आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्ज क्षेत्रलाई लक्षित गर्दै नयाँ समयसहितको निषेधाज्ञा र कफ्र्यू लागू गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीका अनुसार, अबदेखि बिहान ५ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू आदेश लागू हुनेछ।
उनका अनुसार, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञाको अवधिमा बजार तथा पसलहरु खुला रहन सक्नेछन, सवारी साधन पनि सञ्चालन गर्न पाइनेछ। तर सार्वजनिक स्थलहरुमा मानिसको भीडभाड, जुलुस, सभा, प्रदर्शन, र्याली तथा कुनै किसिमका सामूहिक गतिविधि गर्न पूर्णतः प्रतिबन्धित गरिएको छ।
प्रजिअ सुवेदीले भने, “निषेधाज्ञाको समयमा मानिसहरुलाई आवतजावत तथा व्यापारिक गतिविधिमा रोक लगाइएको छैन, तर भीडभाड गर्न पाइने छैन।”
तर कफ्र्यू अवधिमा भने, पहिले झैं मानिसहरु घर बाहिर निस्कन पाउने छैनन्। यदि कसैले कफ्र्यू आदेश उल्लंघन गरेमा, स्थानीय प्रशासनले कडा कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ।
पर्सा प्रशासनले सर्वसाधारणलाई निर्धारित समय र नियमहरुको कडाइका साथ पालना गर्न आह्वान गरेको छ।

















