Logo

२८ भदौ,वीरगञ्ज । कलैया उपमहानगरपालिकाले विषम परिस्थितिका कारण स्थगित भएका सबै सेवा र शैक्षिक संस्थाहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै भोलि आइतबार (२९ भदौ) देखि कार्यालयका नियमित सेवा प्रवाह र विद्यालयहरूको पठनपाठन सुचारु गरिने जानकारी दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत नाथु साहका अनुसार, “विगत केही दिनदेखि देशमा उत्पन्न संवेदनशील परिस्थितिका कारण सेवामा अवरोध आएको थियो, तर अहिले अवस्था सामान्य भएको भन्दै सबै सेवा र विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरिएको हो।”

उपमहानगरपालिकाले स्थानीयवासीहरूलाई नियमित सेवा लिन र बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै शान्ति, सुरक्षा र संयमताका साथ सहकार्य गर्न पनि अनुरोध गरेको छ।

यस निर्णयसँगै, कलैया क्षेत्रका विद्यालयहरूमा पढाइ पुनः सुरु हुने र सार्वजनिक सेवा प्रवाह पनि नियमित हुने भएको छ।


सम्बन्धित समाचार
भर्खरै