Logo

२८ भदौ,काठमाडौं ।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसद विघटनको विरोध गर्दै तोकिएकै मितिमा आम निर्वाचन गराउन माग गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गर्दै आगामी फागुन २१ गतेका लागि आम निर्वाचनको मिति घोषणा गरेपछि श्रेष्ठले चारबुँदे धारणा सार्वजनिक गरेका हुन्।

श्रेष्ठले शनिबार राजधानीमा आयोजित कार्यक्रममा “आजको मूल मुद्दा” भन्दै निर्वाचन र सुशासनसँग जोडिएका चार प्रमुख मागहरू राखे।

१. तोकिएको मितिमै निर्वाचन गर

श्रेष्ठले संविधानको मर्मअनुसार घोषित फागुन २१ गतेको निर्वाचन मिति परिवर्तन नगरी त्यसै दिन आम निर्वाचन सम्पन्न गर्न सरकारसँग माग गरे।

२. जेन्जी आन्दोलनमाथिको दमन र संरचना तोडफोडको छानबिन गर

श्रेष्ठले भदौ २३ गते जेन्जी आन्दोलनमाथि भएको दमनलाई “बर्बर र नरसंहारकारी” भन्दै आलोचना गरे। साथै, भदौ २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत राष्ट्रिय महत्वका संरचना र निजी सम्पत्तिमा भएको तोडफोड तथा आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषी पहिचान गरी कारबाहीको माग गरे।

३. भ्रष्टाचारमाथि कठोर कारबाही

श्रेष्ठले २०४७ सालदेखि सरकार, संसद् र सार्वजनिक लाभका पदमा रहने सबैको सम्पत्ति छानबिन गर्न माग गरे। अनियमित रूपमा आर्जन गरिएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र सुशासन कायम गर्न भ्रष्टाचारमा संलग्न सबैमाथि कारबाही हुनुपर्ने उनको भनाइ थियो।

४. संविधान, लोकतन्त्र र सार्वभौमिकताको रक्षाका लागि सचेत बनौँ

उनले सबै नागरिकलाई राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षा गर्न सचेत र जागरुक बन्न आह्वान गरे।


सम्बन्धित समाचार
भर्खरै