Logo

२८ भदौ,काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालैको जेन–जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर कांग्रेसले जनताको विश्वास जित्ने गरी अघि बढ्नुपर्ने बताएका छन्।

उनले ‘समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै शक्तिशाली राष्ट्र निर्माणमा कांग्रेस समर्पित हुने’ प्रतिज्ञा गरेका छन्। जेन–जी आन्दोलनको ऊर्जा र चेतनाले दुई ठूला दललाई सत्ताबाट बाहिर पठाएको यथार्थलाई स्वीकार गर्दै कांग्रेसले आत्मालोचनासहित नयाँ दृष्टिकोण अपनाउनुपर्नेमा उनले जोड दिए।

कोइरालाले भदौ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको हातपात र लुटपाटलाई ‘जघन्य अपराध’ भन्दै निन्दा गरेका छन्। त्यसैगरी, भदौ २३ र २४ गते सार्वजनिक सम्पत्ति नष्ट गर्ने कार्य कुनै हालतमा स्वीकार्य नभएको उनको भनाइ छ।

उनले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता अग्रज नेताहरूको योगदानको स्मरण गर्दै नयाँ परिस्थितिमा पार्टीको नेतृत्व, सङ्गठन र विचारमा नयाँपन ल्याउनुपर्ने आवश्यकता औंल्याए। दशैंलगत्तै देशभर छलफल र बहसमा सहभागी हुने योजना पनि उनले जानकारी दिए।

हालै आगलागी भएको विराटनगरको ऐतिहासिक ‘कोइराला निवास’ बारे बोल्दै उनले भने, “कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न।”

अन्तमा, उनले बीपी कोइरालाको भनाइ ‘नेपाल पक्कै ब्युँझिन्छ, जय नेपालको नाराले’ उद्धृत गर्दै कांग्रेसलाई ‘जनताको केन्द्रमा बस्ने’ पार्टी बनाउन सबै कार्यकर्तालाई अपिल गरे।


सम्बन्धित समाचार
भर्खरै