Logo

३१ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलका अनुसार, जेनजी आन्दोलन, त्यसपछिको बदलिँदो राजनीतिक अवस्था, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेका व्यक्तिहरूको अवस्थाबारे भेटवार्तामा विस्तृत छलफल भएको हो।

छलफलका क्रममा आयोगले लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रही कार्य गर्न नेपाली सेनालाई सुझाव दिएको जनाएको छ। साथै, बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै शान्ति र मानव अधिकारको संरक्षणमा सेना जिम्मेवार र संवेदनशील बन्नुपर्ने आयोगको धारणा रहँदै आएको प्रवक्ता पोखरेलले बताए।

आयोगले जेनजी आन्दोलनको क्रममा भएको घटनाक्रमको मानव अधिकार पक्षको अनुगमन गरिरहेको जनाएको छ। साथै, नेपाली सेनाको संरक्षणमा रहेका व्यक्तिहरूसँग सम्पर्कमा रही उनीहरूको सुरक्षा र स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको पनि स्पष्ट पारेको छ।

मंगलबार जारी विज्ञप्तिमा आयोगले जेनजी आन्दोलनका प्रतिनिधि, मृतकका परिवार, घाइतेहरू, अन्य प्रभावित व्यक्ति र बालबालिकासँग निरन्तर भेटघाट भइरहेको उल्लेख गरेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले सबै निकायलाई मानव अधिकार र विधिको शासनको मर्मअनुसार उत्तरदायी बन्न आह्वान गर्दै आएको छ।


सम्बन्धित समाचार