३१ भदौ, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच मंगलवार अपरान्ह सिंहदरबारमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटका क्रममा राजदूत श्रीवास्तवले नेपालको उन्नति, विकास र समृद्धिका लागि भारत निरन्तर सहयोगी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनमा पनि शान्ति, सुशासन र स्थायित्वका लागि भारतको प्रतिबद्धता यथावत् रहने स्पष्ट पारे।
नेपालमा जेनजी आन्दोलनपश्चात् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अन्तरिम प्रधानमन्त्रीका रूपमा सुशीला कार्की नियुक्त भएकी हुन्। कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिसकेका छन्।
भेटमा राजदूत श्रीवास्तवले नेपालको पुनःनिर्माण, पूर्वाधार विकास र द्विपक्षीय सहकार्यमा भारत सधैं सकारात्मक रहेको बताउँदै, भारत-नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय सहकार्य आवश्यक रहेको धारणा राखे।
यसैबीच, आगामी बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री कार्कीबीच फोनवार्ता हुने कार्यक्रम तय भएको स्रोतले जनाएको छ। दुई नेताबीच नेपालको वर्तमान अवस्था, निर्वाचन तयारी र आपसी सम्बन्धका विविध पक्षमा छलफल हुने अनुमान गरिएको छ।

















