Logo

१ असोज, काठमाडौं । बानेश्वरस्थित बीआईसीसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीपछि अब त्यहाँ संघीय संसदका बैठकहरू नबस्ने भएका छन्। सरकारका मन्त्रीहरूले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवनबाट आगामी बैठक सञ्चालन गरिने जानकारी दिएका छन्।

गएको भदौ २३ र २४ गते प्रदर्शनकारीहरूको आक्रमणपछि बीआईसीसी भवनमा ठूलो क्षति पुगेको थियो। बुधबार भवनको अवलोकनका लागि पुगेका अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ, तथा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन्।

ऊर्जा मन्त्री कुलमान घिसिङले संसदको बैठक अब सिंहदरबारभित्र निर्माणाधीन नयाँ भवनबाट सञ्चालन हुने जानकारी दिए। उनले आगामी पुससम्म भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे। साथै, आगजनीबाट क्षतिग्रस्त बीआईसीसी भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने जानकारी पनि मन्त्री घिसिङले दिए।

उनका अनुसार तत्कालै सरसफाइ कार्य सुरु गरी पुनःनिर्माणका लागि डिजाइन प्रक्रिया अघि बढाइनेछ, र अल्पकालीन तथा दीर्घकालीन योजनाअनुसार काम थालिनेछ।

प्रतिनिधि सभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको छ। यसैबीच, राष्ट्रिय सभाको अधिवेशन भने सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा सञ्चालन गर्ने तयारी भइरहेको छ। यस विषयमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रधानमन्त्री सुशीला कार्कीबीच छलफल भएको स्रोतले जनाएको छ।

राष्ट्रिय सभा सचिवालयले तिहारपछि अधिवेशन बोलाउने तयारी भइरहेको जानकारी दिएको छ।


सम्बन्धित समाचार