Logo

१ असोज, काठमाडौं ।  जनमत पार्टीभित्र नेतृत्व संकट चुलिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवलगायत ६ जना शीर्ष नेताले पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको राजीनामा माग गरेका छन्।

नेतृत्व परिवर्तनको माग गर्दै अध्यक्ष राउतलाई सम्बोधन गरिएको एक संयुक्त पत्रमा उनीहरूले पार्टीको समग्र हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनर्स्थापनाका लागि सीके राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतले २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिनुपर्ने उल्लेख गरेका छन्।

पत्रमा भनिएको छ, “पार्टीको जिम्मेवार पदाधिकारीहरूको हैसियतले हामी नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुगेका छौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतले आफ्नो पदबाट राजीनामा दिन हार्दिक अनुरोध गर्दछौँ।”

पत्रमा भदौ २३ र २४ गते जेनजी युवाहरूले सञ्चालन गरेको आन्दोलनले मुलुकको राजनीतिक परिदृश्यमा ऐतिहासिक मोड ल्याएको उल्लेख गर्दै, त्यसप्रति पार्टी नेतृत्वले आवश्यक प्रतिक्रिया दिन नसकेको गुनासो गरिएको छ।

“पछिल्लो समय शीर्ष नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव, तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य र विचार गुमाउँदै गएको देखिन्छ,” पत्रमा उल्लेख छ।

राजीनामा माग्ने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् तथा केन्द्रीय सदस्य विक्रमबहादुर बल रहेका छन्।

यो घटनाले पार्टीभित्र आन्तरिक असन्तोष चुलिँदै गएको देखिन्छ भने अध्यक्ष राउतको नेतृत्वमा चुनौती थपिएको स्पष्ट देखिन्छ। पार्टी नेतृत्वले यसप्रति कस्तो प्रतिक्रिया जनाउनेछ भन्ने विषयमा चासो बढेको छ।


सम्बन्धित समाचार