Logo

२ असोज, काठमाडौँ ।  जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई पार्टीको ‘महाभारत’ र ‘अग्निपरीक्षा’ भन्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा एकजुट भएर जुट्न आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश दिँदै अध्यक्ष राउतले पार्टीभित्र उत्पन्न भइरहेका केही गतिविधिहरूले कार्यकर्ताको ध्यान निर्वाचनबाट अन्यत्र तान्न खोजिएको गम्भीर आरोप लगाएका छन्। “समयको अभाव भएको अवस्थामा नेताकार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको छ,” उनले भने, “फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र शक्ति खेर नफालौं, जनमत पार्टीलाई नम्बर १ बनाउनेतिर लागौं।”

राउतले जनमत पार्टीका सबै तहका नेता र कार्यकर्तालाई गाउँ–गाउँ, टोल–टोलमा पुगेर बूथ समिति र युवा दस्ताको गठन गर्न, प्रशिक्षण र परिचालनमा जुट्न आग्रह गरेका छन्। उनले भने, “नौलो गणतन्त्र नै आगामी निकास हो भनेर प्रचार गरौं, चुनाव जित्ने रणनीतिमा लागौं, निर्वाचनपछि छलफल र बहस हुनेछ।”

उनका अनुसार, अबको केही महिनाभित्रै पार्टी दर्ता र समानुपातिक सूची बुझाउने कार्यहरू पनि सम्पन्न गर्नुपर्ने भएकाले समय अत्यन्त सीमित छ। यस्तो अवस्थामा अनावश्यक विवाद, सामाजिक सञ्जाल पोस्ट वा बहस गरेर समय खेर नफाल्न उनले निर्देशन दिएका छन्।

अन्त्यमा, उनले मधेशमा जनमत पार्टीको विजय सुनिश्चित गरेर पार्टीलाई राष्ट्रव्यापी निर्णायक शक्ति बनाउने लक्ष्यमा एकजुट हुन कार्यकर्तालाई आव्हान गरे।


सम्बन्धित समाचार