Logo

८ असोज, काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा एकैदिनमा २७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार, असोज २ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। यो वृद्धि अघिल्लो दिनको तुलनामा उल्लेखनीय हो ।

निक्षेप र कर्जाको अवस्था

असोज १ गते बैंक तथा वित्तीय संस्थाहरूमा ७३ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यसमा वाणिज्य बैंकहरूको निक्षेपमा मात्रै एकैदिनमा २८ अर्ब रुपैयाँले वृद्धि भई ६६ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकिङ प्रणालीमा २७ अर्ब निक्षेप थपिए पनि कर्जा लगानी भने १ अर्ब रुपैयाँले मात्रै बढेको छ। हाल बैंक तथा वित्तीय संस्थाले कुल ५६ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्, जसमा वाणिज्य बैंकहरूको हिस्सा ५० खर्ब ४ अर्ब रुपैयाँ रहेको छ।

ब्याजदर र सीडी रेसियोमा सुधार

निक्षेपमा भएको वृद्धिसँगै बैंकिङ प्रणालीमा तरलता सहज भएको छ। जसको प्रत्यक्ष असर अन्तर बैंक ब्याजदर र सीडी रेसियोमा देखिएको छ। हाल अन्तर बैंक कारोबारको ब्याजदर घटेर २।७५ प्रतिशतमा झरेको छ। यसले बैंकहरूबीचको अल्पकालीन कर्जा कारोबार सहज भएको देखाउँछ।

कर्जा-निक्षेप अनुपात पनि घटेर ७५ दशमलव ५७ प्रतिशतमा आइपुगेको छ । यो अनुपातले बैंकहरूको कर्जा प्रवाह गर्ने क्षमतालाई जनाउँछ, र यसमा आएको कमीले बैंकहरू कर्जा दिन थप सक्षम भएको संकेत गर्दछ । समग्रमा, निक्षेपमा भएको यो वृद्धिले बैंकिङ प्रणालीको वित्तीय स्वास्थ्यमा सकारात्मक सुधार आएको देखाउँछ।


सम्बन्धित समाचार