Logo

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मंसिरमा विशेष महाधिवेशन गर्ने र पदाधिकारी र केन्द्रीय समिति भङ्ग गर्ने प्रस्तावलाई लिएर विभाजित बनेको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा ले प्रचण्डको प्रस्तावमा असहमति जनाउँदै नेतृत्व हस्तान्तरणको पक्षमा दुई फरक तर सशक्त ‘काउन्टर प्रस्ताव’ अगाडि सारेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बदलिएको राजनीतिक परिस्थिति (प्रतिनिधि सभा विघटन र फागुन २१ गतेको चुनाव घोषणा) लाई ध्यानमा राख्दै प्रचण्डको समयरेखामाथि प्रश्न उठाएका छन् । श्रेष्ठले मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको भन्दै चुनावको सुनिश्चितताका लागि पार्टीले भूमिका खेल्नुपर्ने र महाधिवेशन चुनावपछि मात्रै गर्नुपर्ने अडान राखेका छन् ।

महाधिवेशनपछि सारे पनि श्रेष्ठले प्रचण्डले अहिले नै नेतृत्व छाड्नुपर्ने जोड दिएका छन् । उनले ‘अध्यक्ष कमरेड प्रचण्डले अहिले नै अध्यक्ष छोडेर मलाई कार्यबाहक अध्यक्ष दिनुस’ भन्दै यो आम कार्यकर्ताको माग भएको जिकिर गरेका छन्। यसअघिको पदाधिकारी बैठकमा पनि उनले यो माग राखेका थिए।

सामूहिक राजीनामा र नयाँ पुस्तामा हस्तान्तरण

श्रेष्ठपछि बोलेका उपमहासचिव जनार्दन शर्माले पनि प्रचण्डको प्रस्तावमा असहमति जनाउँदै पदाधिकारीको सामूहिक राजीनामा सहितको बृहत्तर नेतृत्व हस्तान्तरण को प्रस्ताव अघि सारेका छन् । सबै पदाधिकारी राजीनामा दिएर निर्देशक समितिमा बसेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न शर्माले प्रस्ताव राखेका छन् । उनले पार्टीले महाधिवेशनको मिति तोकेर मात्रै नहुने भन्दै कार्यकर्तालाई स्वतन्त्र ढंगले नयाँ नेता छान्ने र नयाँ विचार ल्याउने वातावरण दिनुपर्ने माग गरे।
शर्माको सार्वजनिक प्रस्ताव छ कि महाधिवेशनसम्म श्रेष्ठले कार्यवाहक अध्यक्षको नेतृत्व गर्ने र त्यसपछि प्रचण्डसहित हालका सबै पदाधिकारी नेतृत्वमा नआउने हो भने पार्टीको साख थप बढ्नेछ।

प्रचण्डमाथि दुईतर्फी दबाब

प्रचण्डले जेनजीको विद्रोह र आन्तरिक चुनौतीलाई व्यवस्थापन गर्न महाधिवेशन र संगठन भङ्गको कार्ड खेले पनि वरिष्ठ नेताहरूबाटै उनको योजनालाई बलियो चुनौती प्राप्त भएको छ। यसबाट माओवादी केन्द्रभित्र नेतृत्व हस्तान्तरण र पार्टीको दिशा लाई लिएर तीव्र शक्ति संघर्ष र विवाद चुलिएको स्पष्ट भएको छ।


सम्बन्धित समाचार
भर्खरै