९ असोज, काठमाडौं । अन्तरिम सरकार गठन भएसँगै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि औपचारिक अनुसन्धान सुरु भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि संकलित प्रमाणहरूलाई नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएको छ । विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा, र निवर्तमान उर्जामन्त्री दीपक खड्काको सम्पत्तिबारे प्रमाण संकलन गरेको हो । देउवा दम्पत्ति र मन्त्री खड्काको घर आगजनीपछि स्थलगत रूपमा पुगेर विभागले पैसाका टुक्राहरू, खरानी, र भिडियो लगायतका प्रमाणहरू संकलन गरेको थियो । सार्वजनिक भएका भिडियोहरूमा उनीहरूको निवासबाट ठूलो मात्रामा नगद छरेको र उडाएको देखिएको थियो । विभागले संकलित प्रमाणहरूको वस्तुपरकता र यथार्थता पुष्टि गर्नका लागि नै ती नमूनाहरूलाई प्रहरीको फरेन्सिक ल्याबमा पठाएको हो ।
आरोपहरूको श्रृङ्खला
देउवा परिवारमाथि लामो समयदेखि श्रृङ्खलाबद्ध अनियमितताका आरोपहरू लाग्दै आएका छन्, जसले यो अनुसन्धानलाई थप गम्भीर बनाएको छ। सार्वजनिक पदमा नियुक्तिदेखि राजकीय कामकारवाहीमा सार्वजनिक पदको दुरुपयोग गरेको र नक्कली शरणार्थी प्रकरणमा समेत नाम मुछिएकी आरजु राणा देउवामाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ। दीपक खड्का मन्त्री हुँदा पदको दुरुपयोग गरेको र स्वार्थ जोडिएको काम गरेको आरोपमा उनको घरबाट भेटिएको प्रमाण पनि परीक्षणमा पठाइएको छ।
अनुसन्धानको कानूनी मोड
सम्पत्ति शुद्धीकरण सम्बन्धी कानूनअनुसार, विभागले गैरकानूनी रूपमा सम्पत्ति कमाएको भेटेमा स्वतः भ्रष्टाचारको आरोप आकर्षित हुन्छ। विभागले अन्य प्रमाण फेला नपारे पनि यदि सम्पत्तिको वैध स्रोत पुष्टि गर्न नसकेमा अनुसन्धानको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन सक्छ। सार्वजनिक पदमा लामो समय बिताएका देउवा दम्पत्तिले सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेमा भ्रष्टाचारको आरोप सामना गर्नुपर्ने अवस्था आउन सक्छ।

















