Logo

३० असोज, काठमाडौं । अकल्पनीय पीडा र अधुरा सपनाको बोझ बोकेर इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पा आज बिहान अमेरिकाबाट काठमाडौं आइपुगेका छन् ।

कतार एयरवेजको विमानबाट उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लंदा विमानस्थलको वातावरण गहिरो दुःखले भरिएको थियो । विपिनलाई हमासको क्रूर कब्जाबाट सकुशल मुक्त गराउन र अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले आमा पद्मा र बहिनी पुष्पा पहिले इजरायल र त्यसपछि अमेरिका पुगेका थिए । यो संघर्ष र आशाको यात्रामा रहेका बेला नै उनीहरूले जीवनकै सबैभन्दा कठोर खबर सुन्नुपर्‍यो । जुन खबर हो ‘विपिनको युद्धमा मृत्यु भयो र शव इजरायललाई हस्तान्तरण गरियो ।’

छोराको सकुशल रिहाइको लागि गरिएको हरसम्भव प्रयास, अन्तिममा शोकमा परिणत हुन पुग्यो। अब उनीहरू फर्केका छन्, विपिनको शव नेपाल ल्याउने कठोर प्रक्रियालाई साक्षी बन्नका लागि ।

इजरायलको लर्न एण्ड अर्न र नियतिको निर्मम खेल

लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत उज्ज्वल भविष्यको खोजीमा गाजा क्षेत्रको सिमा नजिकैको किबुत्ज सहरमा पुगेका १७ नेपाली विद्यार्थीहरूमध्ये विपिन पनि एक थिए। दुई वर्षअघि हमासले गरेको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएका थिए, तर विपिनलाई भने बन्धक बनाइएको थियो ।

एउटा निर्दोष युवाको जीवन र एक परिवारको सारा खुसी यसरी युद्धको निर्मम चपेटामा परेर छताछुल्ल भएको छ। आमा र बहिनीको आँखामा देखिने नमीठो पीडाले विपिनलाई गुमाउँदाको देशको सामूहिक दुःख प्रतिविम्बित गरेको छ।


सम्बन्धित समाचार
भर्खरै