७ असार, काठमाडौँ । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेनिज उन्दाभले दुई उत्कृष्ट गोल गरेपछि जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेको छ ।
टोरन्टो स्टेडियममा भएको रोमान्चक खेलमा जर्मनीले आइभोरी कोस्टलाई २–१ ले पाखा लगाउँदै नकआउट चरणको यात्रा तय गरेको हो ।
खेलको ३०औँ मिनेटमा फ्रान्क केसीले गोल गर्दै एमर्स फायको टोली आइभोरी कोस्टलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा मैदान छिरेका जर्मनीका डेनिज उन्दाभले खेलको ६८औँ र थप गरिएको समय (९ंं४) मिनेट मा गोल गर्दै आइभोरी कोस्टको सपना चकनाचुर पारे। खेलको सुरुवातदेखि नै जर्मनीले आक्रामक रणनीति अपनाएको थियो ।
खेल सुरु हुने बित्तिकै काई हाभर्ट्जको प्रहार क्रसबारको थोरै माथिबाट बाहिरियो। त्यसपछि योसुवा किमिचको क्रसमा हाभर्ट्जकै हेडरलाई आइभोरी कोस्टका गोलकिपर याहिया फोफानाले उत्कृष्ट बचाउ गरे।
केही समयपछि नै जर्मनीका अलेक्ज्याण्डर पाभ्लोभिचले कर्नरमार्फत उत्कृष्ट हेडर गोल गरे पनि, हेडिङ गर्ने क्रममा फल गरेको भन्दै रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्।
त्यसको ठीक विपरीत, खेलको ३०औँ मिनेटमा आइभोरी कोस्टले काउन्टर अट्याकमा गोल गर्यो।
यान डियोमान्डेको क्रसमा अमाद डियालोको प्रहारलाई जर्मन डिफेन्डर नाथानियल ब्राउनले रोके पनि रिबाउन्डमा फ्रान्क केसीले गोल गर्दै आइभोरी कोस्टलाई १–० को अग्रता दिलाए ।
दोस्रो हाफमा खेल आफ्नो पक्षमा पार्न जर्मन प्रशिक्षक युलियन नागेल्सम्यानले रणनीति परिवर्तन गरे। खेलको ६०औँ मिनेटमा उनले नादिम अमिरी र डेनिज उन्दाभलाई मैदान पठाए। यो निर्णय जर्मनीका लागि टर्निङ प्वाइन्ट साबित भयो।
बराबरी गोल ६८औँ मिनेटमा मैदान छिरेको आठ मिनेटमै नादिम अमिरीको सटीक क्रसमा डेनिज उन्दाभले क्लोज(रेन्ज हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
खेलको अन्तिम समयतिर आइभोरी कोस्टका साइमन अडिंग्राले गोल गर्ने सुनौलो मौका पाएका थिए, तर उनको फितलो टचका कारण जर्मन डिफेन्सले बल क्लियर गरिदियो ।
खेल बराबरीमा सकिने तर्फ अघि बढिरहेका बेला, इन्जुरी समयको चौथो मिनेट ० मा लुकास नमेचाको पासलाई नियन्त्रणमा लिँदै उन्दाभले उत्कृष्ट फिनिसिङका साथ व्यक्तिगत दोस्रो गोल गरे। यस गोलसँगै जर्मनीले २–१ को नाटकीय जित निकाल्यो ।
यस जितसँगै जर्मनी अर्को चरणमा पुग्ने निश्चित भएको छ। यही समूहको अर्को खेलमा क्युरासाओ र इक्वेडरबीच प्रतिसपर्धा हुँदैछ ।
















