Logo

६, असार काठमाडौं । सरकारले घरको नक्सा पास गर्ने र सम्पन्न प्रमाणपत्र दिने प्राविधिक एउटै व्यक्ति अुन नपाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई परिपत्र गर्दै घर वा भवनको नक्सा स्वीकृत गर्ने र निर्माण सम्पन्न भएको प्रमाणपत्र जारी गर्ने प्राविधिक एउटै व्यक्ति हुन नपाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

भवन निर्माण कार्यलाई व्यस्थित र गुणस्तरीय बनाउन तथा सम्भावित संरचनागत जोखिम न्युनिकरण गर्न सरकारले नयाँ नियम कायर्नन्वयनमा ल्याइएको जनाएको छ ।मन्त्रालयको स्थानीय तह समन्वय शाखाले गत २०८३ जेठ ४ गते सबै स्थानीय तहलाई पत्र पठाई सहरी विकास मन्त्रालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

सहरी विकास मन्त्रालयको गत २०८३ वैशाख २३ गतेको पत्र तथा मन्त्रीस्तरीय निर्णयका आधारमा यो परिपत्र जारी गरिएकोबारे मन्त्रालयले असार २ गते वेबसाइटमार्फत जानकारी गराएको छ । भवन ऐन, २०५५ को दफा ३ बमोजिम गठित ‘भवन निर्माण व्यवस्था सुदृढीकरण समिति’ को निष्कर्षअनुसार, कतिपय स्थानीय तहमा कार्यरत प्राविधिकहरूले आफैँ वा आफ्ना मातहतका इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत नक्सा तयार गर्ने–गराउने, आफैँ साइट निरीक्षण गर्ने र निर्माण सम्पन्न भएको प्रमाणपत्र पनि आफैँ प्रमाणित गर्ने प्रवृत्ति देखिएको छ ।

यसले गर्दा निर्माणको गुणस्तर कमजोर हुने र संरचनागत रूपमा जोखिमपूर्ण भवनहरू बन्ने सम्भावना बढेकाले एउटै व्यक्तिले नक्सा स्वीकृत गर्ने र सम्पन्न प्रमाणपत्र जारी गर्न नपाउने गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।

परिपत्रमा सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिता अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिइनुका साथै मापदण्डविपरीत तथा असुरक्षित रूपमा निर्माण गरिएका भवनहरूलाई वैधानिकता दिने उद्देश्यले गरिने अभिलेखीकरण कार्य तत्काल रोक्न समेत स्थानीय तहहरूलाई सचेत गराइएको छ ।


सम्बन्धित समाचार