५ असार,काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
धितोपत्र बजारको नियामक निकायका रूपमा रहेको नेपाल धितोपत्र बोर्डको नेतृत्व लामो समयदेखि रिक्त रहेको अवस्थामा सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो। डा. भट्टको नियुक्तिसँगै बोर्डको नेतृत्वले निरन्तरता पाउने अपेक्षा गरिएको छ।
नेपालको पुँजी बजारको नियमन, विकास तथा लगानीकर्ताको हित संरक्षणमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहँदै आएको छ। नयाँ अध्यक्ष नियुक्तिसँगै बोर्डका नीतिगत तथा नियामकीय कार्यहरू थप प्रभावकारी हुने विश्वास गरिएको छ।