५ असार,चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र रेवा उपभोक्ता समितिको संयुक्त आयोजनामा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवार तथा घाइतेहरूलाई राहत वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा ४७ परिवारलाई कुल एक लाख ९२ हजार ६ सय रुपैयाँ बराबरको राहत वितरण गरिएको छ।
रेवा उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत तथा कार्यालय प्रमुख डिलबहादुर पुर्जा पुन प्रमुख अतिथि रहेका थिए।
विशिष्ट अतिथिमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अविनाष थापा मगर, माडी नगरपालिका–६ का वडा अध्यक्ष दिपेन्द्रराज पौडेल, माडी नगरपालिका–७ की वडा अध्यक्ष चन्द्रकुमारी बानियाँ तथा कार्यपालिका सदस्य कमलबहादुर भुजेल सहभागी थिए।
प्रमुख अतिथि पुर्जा पुनले ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा दिपेन्द्रराज पौडेल, चन्द्रकुमारी बानियाँ तथा पीडित परिवारका तर्फबाट तीर्थराज वाग्लेले मन्तव्य राखेका थिए।
प्रमुख अतिथि पुर्जा पुनले वन्यजन्तुबाट पीडित परिवारलाई सम्झेर रेवा उपभोक्ता समितिले राहत वितरण गरेको कार्य प्रशंसनीय भएको बताए। यस्ता कार्यक्रम अन्य मध्यवर्ती उपभोक्ता समितिले समेत सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले प्रदेश सरकारबाट आवश्यक योजना ल्याउन पहल गर्ने बताए। संरक्षणसँगै पीडित नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा पनि उनले जोड दिए।
वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्रराज पौडेलले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय सरकार, निकुञ्ज प्रशासन र मध्यवर्ती उपभोक्ता समितिबीच बलियो सहकार्य आवश्यक रहेको बताए।
वडा नम्बर ७ की अध्यक्ष चन्द्रकुमारी बानियाँले रेउ करिडोर क्षेत्रमा प्रभावकारी तटबन्धन निर्माण गरी जङ्गली जनावरलाई बस्ती र खेतीयोग्य जमिनतर्फ पस्न रोक्न सके मानव, पशुचौपाया तथा खेतीपातीमा हुने क्षति कम गर्न सकिने बताइन्। दुवै वडाध्यक्षले रेवा उपभोक्ता समितिसँग सहकार्य गर्न सधैं तयार रहेको धारणा राखे।
पीडित परिवारका तर्फबाट बोल्दै तीर्थराज वाग्लेले पीडामा रहेका परिवारलाई सम्झेर राहत वितरण गरिएकोमा धन्यवाद व्यक्त गरे। यस्ता कार्यक्रमलाई वार्षिक रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले यसले पीडित परिवारको घाउमा केही मलम लगाउने विश्वास व्यक्त गरे।
रेवा उपभोक्ता समितिले तीन चरणमा राहत वितरण गरेको जनाएको छ। समितिका अनुसार क वर्गअन्तर्गत मृत्यु भएका व्यक्तिका परिवार, ख वर्गअन्तर्गत गम्भीर घाइते तथा ग वर्गअन्तर्गत सामान्य घाइते भएका गरी ४७ परिवारलाई कुल एक लाख ९२ हजार ६ सय रुपैयाँ वितरण गरिएको हो।
समितिले सार्वजनिक गरेको विवरणअनुसार बाघ, भालु, गैंडा र गौरीगाईको आक्रमणबाट मृत्यु तथा घाइते हुने घटना भएका छन्। तीमध्ये सबैभन्दा बढी क्षति भालुको आक्रमणबाट भएको देखिएको छ।
कार्यक्रमका अध्यक्ष शिवबहादुर कार्कीले रेवा उपभोक्ता समिति सधैं उपभोक्ता र स्थानीयवासीको हितमा काम गर्दै आएको बताए। वर्षेनी जङ्गली जनावरका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको उल्लेख गर्दै उनले यसको न्यूनीकरणका लागि निकुञ्ज प्रशासनसँग निरन्तर सहकार्य र छलफल भइरहेको बताए। वितरण गरिएको रकमले क्षतिको पूर्ण पूर्ति गर्न नसके पनि “हामी तपाईंहरूको साथमा छौं” भन्ने भावनाका साथ सहयोग गरिएको उनको भनाइ थियो।

लगातार दोस्रो कार्यकाल पूरा गरी तेस्रो कार्यकालको नेतृत्व सम्हालिरहेका कार्की स्थानीयवासीमाझ लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। जङ्गली जनावर बस्तीमा पसेको खबर पाएपछि आफैं अग्रसर भएर जनावर धपाउन जाने, पीडित परिवारको घरदैलोमा पुगेर क्षतिपूर्ति प्रक्रियामा सहजीकरण गर्ने तथा जनताको दुःख–सुखमा साथ दिने स्वभावका कारण स्थानीयवासीले उनलाई निरन्तर नेतृत्वमा चयन गर्दै आएका छन्।
रेवा उपभोक्ता समितिअन्तर्गत ४७ वटा उपभोक्ता समिति आबद्ध रहेका छन् भने साविक कल्याणपुर क्षेत्रका नौ वटै वडाहरू समेटिएका छन्। कार्यक्रमको सञ्चालन समितिका सचिव सूर्यकान्त खनालले गरेका थिए।
कार्यक्रममा सहभागीहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना, प्रभावकारी तटबन्धन तथा पीडित परिवारलाई थप राहत र सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
















