Logo

५ असार,वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरस्थित हजारीमल धर्मशालाको खाली जग्गामा निर्माण गरिएको विद्युतीय सवारीसाधन (इभी) चार्जिङ सेन्टर निर्माण सम्पन्न भएको करिब ६ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। आवश्यक विद्युत् पूर्वाधारको अभावका कारण करोडौंको सरकारी लगानीमा बनेको संरचना प्रयोगविहीन बनेको हो।

मधेस प्रदेश सरकारको करिब ३२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त चार्जिङ सेन्टर इन्टर ट्रेड नेपालमार्फत निर्माण गरिएको थियो। निर्माण कार्य सम्पन्न भए पनि सञ्चालनका लागि आवश्यक ट्रान्सफर्मर जडान नहुँदा सेवा सुरु हुन नसकेको निर्माण कम्पनीका प्रतिनिधि पुष्करराज ठाकुरले बताए।

उनका अनुसार जिम्मेवारी प्राप्त गरेपछि २० दिनभित्रै निर्माण कार्य सम्पन्न गरिएको थियो। तर आवश्यक विद्युत् व्यवस्थापन नहुँदा चार्जिङ सेन्टर सञ्चालनमा आउन नसकेको हो।

ठाकुरले प्रारम्भिक योजना अनुसार चार्जिङ सेन्टर बिपी उद्यान क्षेत्रमा निर्माण गर्ने तयारी गरिएको भए पनि स्थान सम्बन्धी विवादका कारण योजना परिवर्तन गर्नुपरेको बताए। त्यसपछि वीरगञ्ज महानगरपालिकाको सिफारिसमा हजारीमल धर्मशालाको खाली जग्गामा संरचना निर्माण गरिएको उनले जानकारी दिए।

चार्जिङ सेन्टर सञ्चालनका लागि करिब ३५० केभीए क्षमताको विद्युत् आपूर्ति आवश्यक पर्ने भए पनि हालसम्म आवश्यक ट्रान्सफर्मर जडान हुन नसकेको उनको भनाइ छ। “विद्युत् पूर्वाधारको व्यवस्था भएको दिनदेखि नै चार्जिङ सेन्टर सञ्चालन गर्न सकिन्छ,” ठाकुरले भने।

विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्माण गरिएको चार्जिङ सेन्टर लामो समयसम्म सञ्चालनमा नआउँदा स्थानीय इभी प्रयोगकर्ता तथा सरोकारवालाले चासो व्यक्त गरेका छन्। आवश्यक पूर्वाधार व्यवस्थापनमा ढिलाइ हुँदा सरकारी लगानीको प्रभावकारी उपयोग हुन नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयवासी तथा सरोकारवालाहरूले सम्बन्धित निकायलाई शीघ्र ट्रान्सफर्मर जडान गरी चार्जिङ सेन्टर सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। चार्जिङ सेन्टर सञ्चालनमा आए वीरगञ्जमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुनुका साथै वातावरणमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वीरग


सम्बन्धित समाचार