Logo

५ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो १० महिनामा गत वर्षको सोही अवधिको तुलनामा करिब ३ करोड ७० लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ। यद्यपि नगरसभाले निर्धारण गरेको महत्वाकांक्षी वार्षिक लक्ष्य हासिल गर्न भने कठिन देखिएको छ।

महानगरपालिकाको राजस्व महाशाखाका अनुसार गत आर्थिक वर्षको पहिलो १० महिनामा ४७ करोड ७५ लाख ११ हजार ५४९ रुपैयाँ राजस्व सङ्कलन भएको थियो। चालू आर्थिक वर्षको सोही अवधिमा यो रकम बढेर ५१ करोड ४५ लाख १३ हजार ५३० रुपैयाँ पुगेको छ।

राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार हालको प्रवृत्ति सकारात्मक देखिए पनि कुल वार्षिक लक्ष्य पूरा हुने सुनिश्चितता भने छैन। गत आर्थिक वर्षमा महानगरले ६३ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियो।

तर चालू आर्थिक वर्षका लागि नगरसभाले करिब १ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकाले लक्ष्य र वास्तविक सङ्कलनबीच ठूलो अन्तर देखिएको छ।

महानगरका आन्तरिक मूल्याङ्कन अनुसार बाँकी अवधिमा लक्ष्यको आधा रकमसमेत उठाउन चुनौतीपूर्ण अवस्था छ। स्थानीय कर, सेवा शुल्क, व्यवसाय दर्ता तथा अन्य स्रोतबाट अपेक्षित आम्दानी नआउँदा लक्ष्य पूरा हुन कठिनाइ भएको बताइएको छ।

राजस्व वृद्धि गर्न महानगरले कर प्रशासन सुदृढीकरण, करको दायरा विस्तार, बक्यौता असुली अभियान तथा करदातामैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइरहेको जनाएको छ।

महानगरपालिकाले बाँकी अवधिमा विशेष राजस्व सङ्कलन अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको छ। चालू आर्थिक वर्षमा समग्र राजस्व प्रदर्शन सुधार भए पनि उच्च लक्ष्यका कारण चुनौती कायम रहेको देखिएको छ।


सम्बन्धित समाचार