Logo

५ असार,काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘बी’ मा दुई खेल चरण सकिँदा सह–आयोजक क्यानडा र स्वीजरल्याण्डले नकआउट चरण प्रवेशको बलियो सम्भावना बनाएका छन्।

दुवै टोलीले हालसम्म दुई–दुई खेलबाट ४–४ अंक जोड्दै क्रमशः समूहको पहिलो र दोस्रो स्थानमा रहेका छन्। क्यानडा गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ भने स्वीजरल्याण्ड दोस्रो स्थानमा छ।

क्यानडाले पहिलो खेलमा बोस्निया–हर्जगोविनासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा कतारलाई ६–० ले पराजित गरेको थियो। यससँगै क्यानडाले ७ गोल गर्दै केवल १ गोल मात्र खाएको छ।

त्यस्तै स्वीजरल्याण्डले पहिलो खेलमा कतारसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा बोस्निया–हर्जगोविनामाथि ४–१ को प्रभावशाली जित दर्ता गरेको थियो। टोलीले हालसम्म ५ गोल गर्दै २ गोल मात्र खाएको छ।

समूह ‘बी’ मा बोस्निया–हर्जगोविना र कतार दुवैको १–१ अंक छ। बोस्नियाले २ गोल गर्दै ५ गोल खाएको छ भने कतारले १ गोल गर्दै ७ गोल बेहोरेको छ। गोल अन्तरका आधारमा बोस्निया तेस्रो र कतार चौथो स्थानमा रहेका छन्।

अब समूह चरणको अन्तिम खेलमा क्यानडा र स्वीजरल्याण्ड आमनेसामने हुनेछन्, जसले समूह विजेता र उपविजेता टुंगो लगाउनेछ। अर्को खेलमा बोस्निया–हर्जगोविना र कतार भिड्नेछन्।

उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा अन्तिम ३२ मा प्रवेश गर्ने सम्भावना पनि बाँकी रहेको छ। तर त्यसका लागि बोस्निया र कतार दुवैलाई फराकिलो जित आवश्यक पर्ने देखिन्छ।

विशेषगरी कतारका लागि अन्तिम खेल अत्यन्त महत्वपूर्ण हुनेछ, जहाँ भारी अन्तरको जितले मात्र अर्को चरणको आशा जीवित राख्न सक्नेछ।


सम्बन्धित समाचार