Logo

५ असार,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योगाभ्यास आवश्यक रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शनिबार बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित योग कार्यक्रममा बोल्दै उनले योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले योग शिक्षालाई अनिवार्य बनाउने विषयमा ध्यान दिनुपर्ने बताए।

मुख्यमन्त्री यादवले व्यस्त जीवनशैलीका बाबजुद प्रत्येक व्यक्तिले दैनिक कम्तीमा एक घण्टा योग गर्नुपर्ने धारणा राखे। “स्वास्थ्य महत्वपूर्ण विषय हो,” उनले भने, “स्वस्थ रहन योग आवश्यक छ। त्यसैले नियमित योग गरौँ र निरोगी जीवन बिताऔँ।”

उनले योगाभ्यासले शरीरलाई मात्र स्वस्थ नराखी व्यक्तिको सोच र व्यवहारमा समेत सकारात्मक परिवर्तन ल्याउने उल्लेख गरे।

कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले पनि निरोगी जीवनका लागि नियमित योगाभ्यास अपरिहार्य रहेको बताए। उनले योगको महत्वबारे जनचेतना फैलाउन र यसको अभ्यासलाई समुदायस्तरसम्म विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

पर्साको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले सामूहिक योगाभ्यास गर्दै योगलाई दैनिक जीवनशैलीको हिस्सा बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।


सम्बन्धित समाचार