Logo

५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि चितवनमा तयारी युद्धस्तरमा अघि बढाएको छ ।

असार ७ गतेदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेका साथै प्रधानमन्त्री बालेन्द्र साहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । भरतपुरको गेस्ट हाउस चौरमा आयोजना गरिने उक्त उद्घाटन सत्रलाई भव्य बनाउन घामपानी छेक्ने विशेष ‘जर्मन ह्याङ्गर’ सहितको संरचना तयार पारिएको छ, जहाँ करिब १० हजार मानिस अटाउन सक्ने आयोजकको दाबी छ ।

महाधिवेशनलाई व्यवस्थित र परिणाममुखी बनाउन रास्वपाले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्रको व्यवस्था गरेको छ। यसअघि औद्योगिक प्रयोजनबाहेक सभाहल उपलब्ध गराउन आनाकानी गरेको संघले उद्योग मन्त्रालय र गृह मन्त्रालयको विशेष अनुरोधपछि हल उपलब्ध गराउने निर्णय गरेको हो। बन्दसत्रका लागि चाहिने आवश्यक प्राविधिक तथा आन्तरिक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिएका छन्।

महाधिवेशनको अर्को रोचक पक्ष भनेको प्रतिनिधिहरूको सहभागिता र मतदान प्रक्रिया हो। करिब ३ हजार प्रतिनिधि र अन्य सहभागी गरी ४ हजार जनाको व्यवस्थापनका लागि सौराहा, टाँडी, मेघौली र पटिहानीका होटलहरूलाई तयारी अवस्थामा राखिएको छ। प्रतिनिधिहरूले आफ्नो बासको खर्च आफैं व्यहोर्नुपर्ने नीति लिइएको छ भने खाना र खाजाको सम्पूर्ण जिम्मा पार्टीले लिएको छ। यस्तै, पार्टीको आगामी नेतृत्व चयनका लागि इलोक्ट्रोनिक भोटिङ मेशिन ९इभीएम० को प्रयोग गरिनेछ, जसमार्फत १ सय जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुनेछन्।

उद्घाटन सत्रलाई थप आकर्षक बनाउन चितवनको स्थानीय संस्कृति र जातीय पहिचान झल्किने नृत्यहरूको समेत प्रदर्शनी गरिनेछ। असार ६ गते बेलुका बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनका बाँकी कार्यसूचीहरूलाई थप स्पष्ट पार्नेछ। महाधिवेशनमा भाग लिन देशभरबाट नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम सुरु भइसकेको छ।


सम्बन्धित समाचार