५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने औपचारिक प्रस्ताव अघि सारेको छ ।
राजधानीमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई परम्परागत शैलीबाट मुक्त गरी नयाँ गति दिन महाधिवेशन अपरिहार्य रहेको बताउनुभयो । बैठकमा नेताहरूबीचको मतभेद र केही वरिष्ठ नेताहरूले बैठक बहिष्कार गरेको तस्बिरहरू सार्वजनिक भइरहँदा अध्यक्ष लिङ्देनले भने महाधिवेशनमार्फत पार्टीलाई थप सुदृढ र रूपान्तरित बनाउने अठोट व्यक्त गर्नुभएको छ ।
बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले महाधिवेशन प्रक्रियामा अब कुनै पनि ढिलासुस्ती वा अन्योल सह्य नहुने स्पष्ट पार्नुभयो। उहाँले निर्वाचन समितिलाई पूर्ण अधिकार र विश्वासका साथ निष्पक्ष तथा पारदर्शी रूपमा कार्यसम्पादन गर्न निर्देशन दिँदै देशभरका कार्यकर्तालाई महाधिवेशनको माहोल बनाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म जसरी सोच्यौँ र चल्यौँ, त्यसमा परिवर्तन नगरी अब हुँदैन, आगामी महाधिवेशनले देशलाई नै नयाँ सन्देश दिनुपर्छ ।’
यसैबीच, पार्टीभित्रको असन्तुष्टि र हालैका दिनमा पार्टी छाड्नेहरूका कारण राजसंस्था तथा हिन्दु राष्ट्रको पक्षमा बनेको जनमत र वातावरण बिग्रिएको आरोप अध्यक्ष लिङ्देनले लगाउनुभएको छ । पार्टी छाड्नेहरूको कदमलाई ‘नाटक’ को संज्ञा दिँदै उहाँले केही स्वार्थी समूहका कारण जनतामा सिर्जना भएको सकारात्मक माहोलमा धक्का लागेको दाबी गर्नुभयो ।
एकातर्फ पूर्वअध्यक्षहरूसहितका शीर्ष नेताहरूले बैठक बहिष्कार गरेर आन्तरिक विद्रोहको संकेत गरिरहँदा अर्कोतर्फ अध्यक्ष लिङ्देनले महाधिवेशनको मिति तय गरेरै छोड्ने रणनीतिक कदम चाल्नुभएको छ, जसले राप्रपाको आगामी राजनीतिलाई थप रोचक र पेचिलो बनाएको छ ।
















