५ असार, काठमाडौं । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सांगठनिक सुदृढीकरण र विस्तारका लागि आधुनिक प्रविधिको प्रयोग गर्दै ‘विशाल आइटी आर्मी’ निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
शुक्रबार आयोजित डिजिटल सदस्यता नवीकरण तथा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले अबको राजनीतिक प्रतिस्पर्धा र लडाइँ प्रविधिसँग जोडिएको स्पष्ट पार्नुभयो। पार्टीलाई नयाँ आवश्यकताअनुसार अगाडि बढाउन डिजिटल फौज नै अनिवार्य रहेको उहाँको भनाइ छ ।
विगतका चुनावी परिणामहरूको समीक्षा गर्दै संयोजक प्रचण्डले उम्मेदवारहरूले निर्वाचनमा ठूलो धनराशि खर्च गरे पनि आइटी क्षेत्रमा पर्याप्त लगानी गर्न नसक्नु कमजोरी भएको स्वीकार गर्नुभयो । ‘निर्वाचनमा करोडौँ खर्च गर्ने तर आइटीमा लगानी गर्न हात काँप्ने प्रवृत्तिले नतिजामा प्रभाव पारेको छ,’ उहाँले भन्नुभयो । आइटी क्षेत्रमा लगानी गरेको भए विगतको चुनावी नतिजा अझ राम्रो आउन सक्ने जिकिर गर्दै उहाँले अबको सम्पूर्ण ध्यान प्रविधिमैत्री पार्टी निर्माणमा केन्द्रित हुने बताउनुभयो ।
कम्युनिस्टहरूले मात्र यस्तो सशक्त आइटी फौज बनाउन सक्ने दाबी गर्दै उहाँले पार्टीका सम्पूर्ण संयन्त्रलाई सोच परिवर्तन गरी डिजिटल युग सुहाउँदो ढङ्गले अगाडि बढ्न निर्देशन दिनुभएको छ ।
















