५ असार,वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४० करोड ८३ लाख रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम प्रस्तुत गरिएको छ।
गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँसभामा अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रस्तुत बजेट अनुसार शिक्षा क्षेत्रमा २ करोड, स्वास्थ्यमा १ करोड, कृषि विकासमा १ करोड ५० लाख, भौतिक पूर्वाधार विकासमा ५ करोड तथा सामाजिक क्षेत्रमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी अध्यक्षस्तरीय योजनाका लागि ६० लाख, उपाध्यक्ष कार्यक्रमका लागि ६० लाख, वडास्तरीय योजनाका लागि प्रत्येक वडालाई ६० लाख तथा कार्यपालिकास्तरीय योजनाका लागि २० लाख रुपैयाँ छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जानकारी दिए।
गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष अनोज चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको बताए। उनले आगामी वर्ष सेवा प्रवाह सुधार, जनअपेक्षा सम्बोधन र समग्र विकासमा केन्द्रित रहने उल्लेख गरे।
उपाध्यक्ष रेखा चौधरीले महिला, बालबालिका, किसान तथा विपन्न समुदायको जीवनस्तर सुधारमा बजेटले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।
प्रमुख प्रशासकीय अधिकृत गिरीले बजेटको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखी योजनाहरू समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाए।
गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेटमाथि छलफलपछि आवश्यक सुझावसहित अनुमोदन गरिएको जनाएको छ।
















