५ असार,वीरगञ्ज ।वीरगञ्ज स्थित त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने मेन रोड क्षेत्रमा सडक सीमा भित्रका बाँकी संरचना हटाउन आगामी आइतबारदेखि पुनः डोजर परिचालन हुने भएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार सूचना जारी गर्दै सडक खण्डको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने कार्यका लागि आवश्यक सहयोग गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरेको छ। डिभिजन प्रमुख किरण कार्कीले पठाएको पत्रमा २०८३/०३/०७ गतेदेखि सडक सीमा क्षेत्रभित्र रहेका अवैध तथा अनियमित संरचना हटाउने कार्य अघि बढाइने उल्लेख गरिएको छ।
यसअघि असार २ गते सडक डिभिजनले सूचना जारी गर्दै पाँच दिनभित्र स्वेच्छिक रूपमा संरचना हटाउन घरधनीहरूलाई आग्रह गरेको थियो। तर अधिकांश संरचना अझै पनि हटाइएको छैन।
गत बैशाख ६ र ७ गते पहिलो चरणमा गण्डक चोकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा दायाँ–बायाँ २५–२५ मिटर सीमा भित्र पर्ने करिब १ हजार २०० घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसपछि केही घरधनीहरूले आफैं संरचना हटाए पनि घण्टाघरदेखि माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका धेरै संरचना अझै बाँकी रहेका छन्।
यसबीच, सडक विस्तारको विरोधमा स्थानीय घरधनीहरूले निरन्तर आन्दोलन गर्दै आएका छन्। उनीहरूको माग सडक विस्तार कार्य रोक्नुपर्ने र मेन रोडलाई “शहरी मार्ग” का रूपमा कायम गर्नुपर्ने रहेको छ।
सडक डिभिजनले भने सडक ऐन, २०३१ अनुसार सडक सीमा संरक्षणका लागि आवश्यक कारबाही अघि बढाइने स्पष्ट पारेको छ। आइतबारदेखि सुरु हुने भनिएको दोस्रो चरणको डोजर अभियानसँगै मेन रोड क्षेत्रमा फेरि तनावपूर्ण अवस्था सिर्जना हुने संकेत देखिएको छ।

















