५ असार,वीरगञ्ज । बीएचसी मेडिकल कलेजको नर्सिङ संकायको प्रवीणता प्रमाणपत्र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले पोषण प्रदर्शनी आयोजना गरेका छन्।
वीरगञ्जको बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटलको प्रांगणमा आयोजित एकदिने प्रदर्शनीमा गर्भवती महिला, सुत्केरी आमा, नवजात शिशु तथा विभिन्न उमेर समूहका बालबालिकाका लागि आवश्यक पोषणसम्बन्धी सन्देशमूलक सामग्री प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहभागी ४० जना विद्यार्थीहरूले पोषणयुक्त आहारको महत्व, त्यसको तयारी, खुवाउने तरिका तथा स्वास्थ्यमा यसको प्रभावबारे जानकारी दिएका थिए। अस्पतालमा उपचार तथा सेवाका लागि आएका बिरामी, कुरुवा तथा सेवाग्राहीहरूलाई समेत उनीहरूले सचेतनामूलक जानकारी प्रदान गरेका थिए।
प्रदर्शनीमा गर्भवती महिलाले लिनुपर्ने पोषणयुक्त आहार, स्तनपानको महत्व, बोतलबाट दूध खुवाउने सही तरिका, पूरक आहारका रूपमा दिनुपर्ने खानेकुरा, सर्वोत्तम पिठोको तयारी, बालबालिकाको अन्नप्रासन तथा त्यसमा प्रयोग गरिने खानेकुरा, हात धुने सही विधि र पौष्टिक टिफिन बक्स तयार गर्ने तरिकासम्बन्धी सामग्रीहरू राखिएको थियो।
बीएचसी मेडिकल कलेजकी प्राचार्य उषा घिमिरेका अनुसार विद्यार्थीहरूले व्यावहारिक ज्ञानसँगै समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरेका हुन्।
कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अस्पतालका सेवाग्राहीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले समुदायमा पोषण र स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
















