५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षाको मिति सार्वजनिक गरेको छ ।
बोर्डले जारी गरेको सूचनाअनुसार, आगामी साउन २ र ३ गते दुई दिन परीक्षा सञ्चालन हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले मापदण्डसमेत स्पष्ट पारेको छ ।
नियमअनुसार, नियमित परीक्षार्थीका रूपमा सहभागी भई सैद्धान्तिकतर्फका अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड ल्याई बढीमा दुई विषयमा ‘नन् ग्रेडेड’ (एनजी) प्राप्त गरेका विद्यार्थीहरूले मात्र यो परीक्षामा सहभागी हुन पाउनेछन् । साथै, बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूलाई पनि पूरक परीक्षा दिने अवसर प्रदान गरिएको छ ।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित परीक्षाको हालै सार्वजनिक नतिजाअनुसार, नियमिततर्फ ६९।७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना विद्यार्थी ननग्रेडमा परेका छन् ।
यस वर्षको परीक्षामा नियमित र आंशिक गरी कूल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए, जसमध्ये समग्र ग्रेडेड प्रतिशत ६४.१३ रहेको छ। परीक्षाको मर्यादा कायम राख्ने क्रममा केही विद्यार्थीहरूको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । पूरक परीक्षाको तयारीमा जुट्न बोर्डले सम्बन्धित विद्यार्थीहरूलाई आग्रह गरेको छ ।
















