Logo

५ असार, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित यस चिडियाखाना परिसरका जीवजन्तुमा संक्रमण देखिएपछि सुरक्षा सावधानी अपनाउँदै आजैदेखि लागू हुने गरी चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ । बर्डफ्लुको फैलावटलाई नियन्त्रण गर्न र आगन्तुकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले चिडियाखानाभित्रका सम्पूर्ण गतिविधिहरू तत्कालका लागि स्थगित गरेको हो ।

गत चैत महिनामा कोशी प्रदेशबाट सुरु भएको बर्डफ्लुको संक्रमण पछिल्लो समय देशभरका १० वटा जिल्लामा फैलिसकेको छ । यस्तो संवेदनशील अवस्थामा राजधानीको मुख्य आकर्षणका रूपमा रहेको चिडियाखानामा नै भाइरस देखिएपछि थप सतर्कता अपनाइएको छ ।

संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले आवश्यक निगरानी र नियन्त्रणका प्रयासहरू थालेको छ । चिडियाखाना कहिलेसम्मका लागि बन्द रहने भन्नेबारे भने हालसम्म स्पष्ट जानकारी गराइएको छैन ।


सम्बन्धित समाचार