Logo

५ असार,वीरगञ्ज ।यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार गौतमलाई १ वर्ष कैद र १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। अदालतले गैरकानूनी रूपमा आर्जन गरिएको बिगो बराबरको सम्पत्ति जफत गर्नसमेत आदेश दिएको छ।

फैसलाअनुसार ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम गौतमबाट थप ४ लाख ३२ हजार ७३ रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउनुपर्नेछ।

अदालतले गौतम सार्वजनिक सेवामा प्रवेश गरेको २०५५ वैशाख ६ गतेदेखि २०७९ चैत २४ गतेसम्मको करिब २५ वर्षको आय–व्यय विश्लेषण गरेको थियो। विश्लेषणका क्रममा गौतमको कुल वैध आय ३ करोड ४७ लाख ८६ हजार ३८२ रुपैयाँ ३१ पैसा रहेको देखिएको छ भने कुल खर्च तथा लगानी ४ करोड ५५ लाख ८८ हजार २२० रुपैयाँ ५५ पैसा पुगेको पाइएको छ।

अदालतका अनुसार गौतमको १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँ २४ पैसा बराबरको सम्पत्तिको वैधानिक स्रोत खुल्न नसकेपछि उक्त रकमलाई अवैध सम्पत्ति ठहर गरिएको हो।

गौतमले हार्भेस्टर भाडा, सुन बिक्री तथा घरका कवाडी सामान बिक्रीबाट आम्दानी भएको दाबी गरेका थिए। अदालतले तीमध्ये केही आम्दानीलाई स्वीकार गरे पनि बाँकी रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ।

पर्सा यातायात कार्यालयमा कार्यरत रहँदा पदीय मर्यादाविपरीत गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतममाथि अनुसन्धान थालेको थियो। अख्तियारले २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै मुद्दा दायर गरेको थियो। अदालतले भने उक्त दाबीमध्ये १ करोड ८ लाखभन्दा बढी रकमलाई मात्रै अवैध ठहर गरेको हो।

अख्तियारले गौतमले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउन श्रीमती सरला नेपालको नाममा राखेको आरोप लगाउँदै उनलाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो। अदालतको फैसलासँगै अवैध ठहरिएको सम्पत्ति जफत हुने भएको छ।


सम्बन्धित समाचार