Logo

५ असार,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री र सभामुख दुवै संसद् तथा नागरिकप्रति जवाफदेही नभएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीको कथित राष्ट्रहितविपरीत अभिव्यक्तिलाई सच्याउन आफूहरूले लगातार आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको गुनासो गरे। उनले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन गरिएको मागसमेत सभामुखले बेवास्ता गरेको आरोप लगाए।

“हामीले १६ दिनदेखि प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति सच्याउनुपर्छ भनेर निरन्तर आवाज उठाइरहेका छौँ,” साम्पाङले भने, “तपाईंले पनि नसुन्ने, उहाँले पनि नसुन्ने। कसैले कसैको कुरा नसुन्ने। यो ढुंगाहरूको देश हो कि मान्छेहरूको देश हो भन्ने लाग्न थालेको छ।”

उनले पद, पोसाक वा भौतिक सुविधाले मात्र व्यक्तिलाई जिम्मेवार नबनाउने भन्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूमा नैतिकता र जवाफदेहिता अनिवार्य हुनुपर्ने धारणा व्यक्त गरे।

“टाइ–सुट लगाउँदैमा, चिल्लो गाडीमा हिँड्दैमा मान्छे भइँदैन,” उनले भने, “मान्छे हुनका लागि नैतिकता चाहिन्छ, जवाफदेहिता चाहिन्छ। प्रधानमन्त्रीज्यूले आफ्नो भनाइ सच्याउनुपर्छ।”

साम्पाङको अभिव्यक्ति संसद्मा प्रधानमन्त्रीको भनाइलाई लिएर जारी विवादका बीच आएको हो। उनले प्रधानमन्त्रीले संसद् र जनताप्रति उत्तरदायी भएर आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग समेत गरेका छन्।


सम्बन्धित समाचार