Logo

५ असार,काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले उच्च शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले अपराध वा अनियमितता गर्दैनन् भन्ने धारणा गलत भएको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै देशमा ठूला आर्थिक अनियमितता र भ्रष्टाचारका घटना उच्च शिक्षित अर्थमन्त्रीहरूको कार्यकालमै सार्वजनिक भएको दाबी गरे।

शाहीले बजेटमा भएको भनिएको हेरफेर तथा कर छली प्रकरणबारे निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग दोहोर्‍याए। सत्तापक्षका सांसदहरूले प्रमाण पेश गर्न चुनौती दिएको उल्लेख गर्दै उनले संसदमा प्रमाण बोकेर आउने अभ्यास नभएको र तथ्य पत्ता लगाउन संसदीय छानबिन आवश्यक रहेको तर्क गरे।

“अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका डा. रामशरण महत, डा. प्रकाशशरण महत र डा. युवराज खतिवडा अर्थमन्त्री भएकै बेला पनि ठूला भ्रष्टाचार तथा अनियमितताका घटना सार्वजनिक भएका छन्,” उनले भने, “केवल शैक्षिक प्रमाणपत्र नै इमान्दारिता र सुशासनको ग्यारेन्टी होइन।”

उनले सरकारका सकारात्मक कामको समर्थन गर्ने तर गलत निर्णयको विरोध गर्न नहिच्किचाउने स्पष्ट पारे। सरकारको विरोध गर्ने समय नआएको उल्लेख गर्दै उनले सरकार बाटो बिराउन लाग्दा सचेत गराउनु विपक्षीको जिम्मेवारी भएको बताए।

शाहीले विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाउने सरकारी निर्णयप्रति आफ्नो असहमति रहेको जनाउँदै यस्ता संवेदनशील क्षेत्रमा कर लगाउनु उपयुक्त नहुने धारणा राखे।


सम्बन्धित समाचार