Logo

६ असार, काठमाडौँ । नागरिकहरूलाई आफ्नै घरदैलोबाट सरकारी सेवा उपलब्ध गराउने सरकारको अभियानअन्तर्गत थप तीनवटा स्थानीय तहमा नापी तथा मालपोत सेवा विस्तार गरिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह गर्ने अभियानलाई तीव्रता दिँदै शुक्रबारदेखि थप पालिकामा यो सेवा सञ्चालनमा ल्याएको हो ।

मन्त्रालयका अनुसार शुक्रबारदेखि झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाबाट औपचारिक रूपमा मालपोत सेवाको सुरुवात भएको छ ।

यसअघि मन्त्रालयले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट यो सेवाको औपचारिक एवं ऐतिहासिक सुरुवात गरेको थियो। कागेश्वरी मनोहरा नगरपालिकाले सेवा सञ्चालनको पहिलो दिनमै स्थानीय नागरिकलाई लालपुर्जा वितरण गरेर सेवा हस्तान्तरणको ढोका खोलेको थियो ।

पछिल्लो विस्तारसँगै हालसम्म देशका चारवटा स्थानीय तहहरू (कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी) बाट स्थानीय स्तरमै नापी तथा मालपोत सम्बन्धी सम्पूर्ण कार्यहरू सम्पादन हुन थालेका छन् ।

देशभरका इच्छुक पालिकाहरूमा चरणबद्ध रूपमा नापी तथा मालपोत सेवा हस्तान्तरण गर्ने मन्त्रालयको दीर्घकालीन योजना रहेको छ। मन्त्रालयले यसअघि गरेको खुल्ला आह्वानमा देशभरका कुल २०७ वटा स्थानीय तहहरूले आफ्नै कार्यलयबाट नापी तथा मालपोत सेवा सञ्चालन गर्न इच्छुक रहेको भन्दै आवेदन दिइसकेका छन् । सोही आधारमा मन्त्रालयले चरणबद्ध रूपमा प्राविधिक तयारी पूरा गरेर सेवा हस्तान्तरण गरिरहेको छ ।

स्थानीय तहबाटै जग्गा प्रशासनको काम हुन थालेपछि अब नागरिकहरूले सामान्य कामका लागि पनि जिल्ला सदरमुकामस्थित मालपोत र नापी कार्यालय धाउनुपर्ने, विचौलियाको फन्दामा पर्नुपर्ने र घण्टौँ लाइन बस्नुपर्ने बाध्यता सदाका लागि अन्त्य हुने अपेक्षा गरिएको छ। यस व्यवस्थाबाट सेवाग्राहीको समय, श्रम र अतिरिक्त खर्च जोगिनुका साथै सेवा प्रवाह थप छिटो, पारदर्शी, सहज र प्रभावकारी बन्ने मन्त्रालयको विश्वास छ।

मन्त्रालयले यो अभियानलाई देशव्यापी बनाउनका लागि आवश्यक प्राविधिक पूर्वाधार, अनलाइन प्रणालीको विकास, जनशक्ति व्यवस्थापन तथा स्थानीय कर्मचारीहरूका लागि विशेष तालिमको प्रबन्ध गरिरहेको जनाएको छ । आगामी दिनमा मापदण्ड पूरा भएका अन्य स्थानीय तहहरूमा पनि क्रमश: नापी तथा मालपोत सेवा विस्तार गर्दै लगिने मन्त्रालयको तयारी छ ।


सम्बन्धित समाचार