Logo

७ असार, काठमाडौं । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणपछि मध्यपूर्वको भू–राजनीतिक अवस्था पुनः जटिल बनेको छ। युद्धविरामको घोषणा भएको २४ घण्टा नबित्दै इजरायलले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएपछि इरानले विश्वको महत्त्वपूर्ण व्यापारिक मार्ग ‘होर्मुज जलडमरूमध्य’ (स्ट्रेट अफ होर्मुज) बन्द गरेको घोषणा गरेको छ।

इरानले होर्मुज जलमार्ग बन्द गरेको दाबी गरे पनि अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले भने उक्त मार्ग पूर्ण रूपमा खुला रहेको जनाएको छ। सेन्टकमका प्रवक्ता टिम हकिन्सले जलमार्गमा जहाजहरूको आवतजावत सामान्य रहेको र शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त मार्ग प्रयोग गरेको जानकारी दिनुभयो।

बीबीसीको भेरिफिकेसन रिपोर्टले पनि शनिबार कम्तीमा पाँचवटा तेल ट्यांकर सो क्षेत्रबाट पार भएको पुष्टि गरेको छ। यद्यपि, तनावका कारण केही जहाजले आफ्नो मार्ग परिवर्तन गरेको देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिँदै यदि इरानले अवरोध जारी राखेमा उक्त मार्ग प्रयोग गर्ने जहाजहरूमाथि अमेरिकाले शुल्क लगाउन सक्ने बताएका छन्।

केही दिनअघि मात्रै अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतामा लेबनानसहित सबै मोर्चामा स्थायी युद्धविराम, होर्मुज जलमार्गको सहज सञ्चालन र थप वार्ताका विषयहरू समेटिएका थिए। तर, दुवै पक्षबीचको गहिरो अविश्वासका कारण शुक्रबार स्विट्जरल्याण्डमा हुने भनिएको हस्ताक्षर समारोह समेत स्थगित भएको थियो।

इरानी सेनाले लेबनानमा सैन्य कारबाही नरोकिएको भन्दै सम्झौताको पहिलो बुँदा नै उल्लंघन भएको आरोप लगाएको छ।

तनावपूर्ण अवस्थाका बीच आज स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता हुँदैछ। यस वार्तामा सहभागी हुन अमेरिकी उपराष्ट्रपति जेडी भान्स वाशिङ्टनबाट प्रस्थान गरिसक्नुभएको छ। वार्तामा आणविक मुद्दा र लेबनान युद्धविरामबारे छलफल हुने बताइएको छ।

यसअघि भान्सको यात्रा अन्तिम समयमा रोकिएको समाचार आए पनि अहिले उहाँ स्विट्जरल्याण्ड पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। इरानी प्रतिनिधिहरू भने यसअघि नै स्विट्जरल्याण्ड पुगिसकेका छन्।

वार्ताको सुरुवाती चरणमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने भएका छन्। विगतमा अमेरिका र इरानबीचको कूटनीतिक संवादमा पाकिस्तानले महत्त्वपूर्ण मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।

इजरायल र हेजबुल्लाहबीचको पछिल्लो तनाव र लेबनानमा भएको हवाई आक्रमणले शान्ति प्रक्रियालाई थप चुनौतीपूर्ण बनाएको छ। तथापि, वार्तामार्फत अवस्था केही सुधार हुने र हिंसा क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ। दुवै देशको सुरक्षा सुनिश्चित गर्दै स्थायी शान्ति कायम गर्नु नै अहिलेको मुख्य चुनौती बनेको छ।


सम्बन्धित समाचार
भर्खरै