Logo

३० असोज,वीरगञ्ज । मधेश प्रदेशको राजनीतिक नेतृत्वमा आएको परिवर्तनपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनल मुख्यमन्त्री नियुक्त भएका छन्। तर शपथ लिएलगत्तै उनको नेतृत्वमा बनेको प्रदेश सरकार नैतिक संकटमा परेको छ।

बुधबार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पाँच दलका ५६ सांसदको समर्थनमा सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। बिहीबार उनले पद तथा गोपनीयताको शपथ लिए।

सोनललाई जसपा नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेको दाबी गरिएको थियो। तर, अब सो समर्थन संख्यामा तीन सांसद घटेका छन्, जसले सरकार बहुमतमा छ वा छैन भन्ने प्रश्न उठाएको छ।

जनस्वराजमा सनाखत, दुई सांसद तटस्थ

सोनलले सरकारको दाबी पेश गरेकै दिन जनमत पार्टीका सांसद तथा निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साहले नवगठित जनस्वराज पार्टीमा सनाखत गरेका थिए। निर्वाचन आयोगबाट औपचारिक मान्यता नपाए पनि यी सांसदहरू अहिले तटस्थ स्थितिमा रहेको जनस्वराज पार्टीले जनाएको छ।

जनस्वराजका अध्यक्ष इन्जिनियर दिपककुमार साहले पार्टीको औपचारिक निर्णय नभइसकेको भन्दै हाललाई तटस्थ रहेको बताएका छन्। यद्यपि, सामाजिक सञ्जालमा सरकारप्रति सहानुभूति व्यक्त गरेपछि सरकारप्रति जनस्वराजको संभावित समर्थनको चर्चा भएको छ। तर उनले त्यो व्यक्तिगत अभिव्यक्ति मात्र भएको स्पष्ट पारेका छन्।

सांसद सरोज सिंह कुशवाहा निलम्बनमा

यसैबीच, जसपा नेपालका सांसद सरोज सिंह कुशवाहामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। संसदीय विकास कोष रकममा अनियमितता गरेको आरोपमा अख्तियारले उनीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उक्त मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बित भएको छ। यसले गर्दा सोनलको दाबीअनुसार समर्थन संख्या ५६ बाट घटेर ५३ मा झरेको छ, जुन बहुमतको ५४ को आँकडाभन्दा एक कम हो।

माओवादी र जसपा सरकारमा सहभागी छैनन्

नेकपा माओवादी केन्द्रले सोनल नेतृत्वको सरकारलाई “नैतिक संकटमा परेको” भन्दै तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ। एक सांसदका अनुसार, “सरकार स्थायित्वबिहीन देखिएकाले अहिले नै सहभागी भइहाल्दा नकारात्मक सन्देश जान्छ।”

जसपा नेपालले पनि हाल प्रदेश अधिवेशनमा व्यस्त रहेको जनाउँदै सरकारमा अहिल्यै सहभागी नभएको स्पष्ट पारेको छ। अधिवेशनपछि मन्त्री चयन गरी सरकारमा सहभागी हुने उसले जनाएको छ।

दुई विनाविभागीय मन्त्री सपथमा

यद्यपि, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल विनाविभागीय मन्त्रीको रूपमा शपथ लिइसकेका छन्।

मुख्यमन्त्री सोनलले पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै सरकार बहुमतमा छ वा छैन भन्ने प्रश्न उठ्न थालेको छ। समर्थन गुमाउँदै गरेको सरकार नैतिक संकटमा परेको टिप्पणीहरू आइरहेका छन्। अबको निर्णय जनस्वराज पार्टीको औपचारिक समर्थन र जसपा तथा माओवादीको सरकारभित्र प्रवेशमा भर पर्ने देखिन्छ।

यो पनि पढ्नुहोस :–

जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिए

मधेशले पायो चौथो नेतृत्व : मुख्यमन्त्री सोनलसहित तीन सदस्यीय मन्त्रिपरिषद्ले लियो शपथ


सम्बन्धित समाचार