३० असोज, काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण यात्राका अन्तिम जीवित पात्र, कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली पर्वतारोहणको इतिहासमा अमिट छाप छोड्दै, उहाँ बुधबार राति काठमाडौंमा उपचारका क्रममा संसारबाट बिदा हुनुभयो । सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिका–३ नाम्चेका शेर्पा, सन् १९५३ को ऐतिहासिक आरोहणमा सहभागी हुनुहुन्थ्यो । तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको शिखरमा उक्लिँदा, उनीहरूको सहयोगी टोलीमा २० वर्षे कान्छा पनि हुनुहुन्थ्यो ।
त्यो साहसिक यात्रामा उहाँले आधार शिविरदेखि चौथो शिविरसम्मको बाटो पहिल्याउन महत्त्वपूर्ण भूमिका निभाउनु भएको थियो। एक अन्तर्वार्तामा उहाँले “हामीले भक्तपुरबाट ४ सय भरिया लिएर यात्रा सुरु गरेका थियौं, तर उकालो बढ्दै जाँदा धेरैजसो फर्किए। नाम्चेबाट जोक्पे प्रयोग गर्यौं।” भन्नुभएको थियो ।
नेपाल पर्वतारोहण संघले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै, “कान्छा शेर्पाको योगदान इतिहास, साहस र धैर्यताको जिवन्त प्रतीक रहिरहनेछ,” भनेको छ। उहाँको अन्त्येष्टि यही आइतबार गरिने जनाइएको छ।
















