३१ असोज, वीरगञ्ज । सामाजिक सेवा क्षेत्रमा सक्रिय उपकार सेवा नेपालले प्रत्येक महिना झै आज पनि ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्धवृद्धा आश्रममा आश्रित वरिष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा बालबालिकाका लागि दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ ।
संस्थाले आश्रममा बसोबास गरिरहेका १७ जना वृद्धवृद्धा, अपांग, सुस्त मानसिक अवस्था भएका व्यक्ति र बालबालिकाका लागि चामल, पिठो, दाल, नून, खाने तेल, बिस्कुट, चिउरा, भुजा, चना, टूथब्रस, टूथपेस्ट, सर्फ, लुगा धुने र नुहाउने साबुन, डाइपर, धनियाँ, खुर्सानी, बेसार लगायतका उपभोग्य सामग्रीहरू हस्तान्तरण गरेको हो ।
एक औपचारिक समारोहकाबीच सामग्री हस्तान्तरण गरिएको समाजिक अभिन्यता प्रकाश थारुले जानकारी दिए । कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य रामबहादुर थिङलाई सामग्रीहरू हस्तान्तरण गरेकी हुन् ।
संस्थाका अनुसार सो सामग्रीहरू आश्रमका वृद्धवृद्धा तथा आश्रित व्यक्तिहरूको नियमित दैनिक आवश्यकताका लागि प्रत्येक महिनामा निरन्तर रूपमा उपलब्ध गराइने गरिएको छ ।
अध्यक्ष सरावगीले सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले देशका विभिन्न स्थानमा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै वृद्धाश्रममा बसोबास गर्ने आश्रित व्यक्तिहरूको हेरचाह, आहार र स्वास्थ्यमा सहयोग पु¥याउने कार्य निरन्तर जारी रहने बताइन् ।
आश्रमका सदस्य थिङले संस्थाप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले वृद्धाश्रम सञ्चालनमा ठूलो सहयोग पुगेको बताए ।
















