१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने सुनिश्चितता प्रदान गर्न सरकार र चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएका छन्।
शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। सो अवसरमा राष्ट्रपति पौडेलले शान्ति-सुरक्षा कायम गर्दै निर्वाचनलाई भयरहित बनाउनेतर्फ ‘बोल्ड्ली’ अगाडि बढ्न निर्देशन दिएका हुन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले सो जानकारी दिएका छन्।
राष्ट्रपतिले भदौ २४ गते लुटिएका हतियार र फरार रहेका कैदीबन्दीलाई तुरुन्त नियन्त्रणमा लिनुपर्ने आग्रह पनि गरेका छन्।
छलफलमा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन प्रतिबद्ध रहेको बताउँदै आवश्यक सबै तयारीमा जुटिसकेको जानकारी दिइन्। उनले सुरक्षा निकायलाई आवश्यक साधन–स्रोत सरकारले उपलब्ध गराउने स्पष्ट संकेत दिइन्।
सुरक्षा निकायका प्रमुखहरूले पनि आफूहरू पूर्णरूपमा तयारी अवस्थामा रहेको जनाउँदै विगतमा झन् कठिन परिस्थितिमा पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गरिसकेको अनुभव रहेको स्मरण गराए।
छलफलमा प्रधानमन्त्री कार्की, उपप्रधानमन्त्रीहरू र अर्थमन्त्रीबाहेकका अन्य मन्त्रीहरू सहभागी थिए। सुरक्षा निकायतर्फबाट नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए।

















