१ कात्तिक, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै, चुनावमा भाग नलिने घोषणा गरेर लोकतान्त्रिक प्रक्रिया कमजोर पार्न खोजिएको बताएका छन्।
विराटनगरमा शनिबार आयोजित कोशी प्रदेशस्तरीय विस्तारित बैठकमा बोल्दै अध्यक्ष साहले, “चुनावमा भाग लिन्नँ भनेर ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई नै चुनौती दिन थालेका छन्,” भन्दै ओलीको पछिल्लो कदम जनविरोधी रहेको टिप्पणी गरे।
उनले गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा युवाहरूको ज्यान जाने घटनामा ओलीको भूमिका रहेको संकेत गर्दै भने, “त्यो नरसंहारका बेला सत्ता सम्हालेका पात्रहरू आज फेरि टाउको उठाउन थालेका छन्।”
अध्यक्ष साहका अनुसार एमाले चुनावको सामना गर्न डराएको र त्यसैले चुनाव भाँड्ने रणनीति अपनाउन खोजिएको हो। “जनताको अदालतमा उभिन डराउनेहरू कहिल्यै पनि असल राजनीतिक नेतृत्व हुन सक्दैनन्,” साहले भने।
एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै जनपरिचालन गर्ने निर्णय लिएको थियो। त्यसै बैठकमा अध्यक्ष ओलीले आगामी २१ फागुनमा हुने भनिएको आम निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए।
ओलीको उक्त निर्णयप्रति तीव्र असन्तुष्टि जनाउँदै साहले भने, “ओलीले आफ्ना अपराध ढाकछोप गर्न सिंगो पार्टीलाई दाउमा लगाइरहेका छन्। यो सस्तो राजनीतिक चलखेल हो।”
साहले एमालेको दुईधारे नीति उजागर गर्दै भने, “एकातिर चुनावमा भाग नलिने उद्घोष गरिन्छ, अर्कोतिर एमाले नेताहरू शीतल निवास र निर्वाचन आयोगमा चुनावी तयारीका लागि उपस्थित हुन्छन्। यो द्वैध चरित्रले जनतालाई झुक्याउन सक्दैन।”
उनले सबै दलहरूलाई लोकतान्त्रिक अभ्यासलाई सुदृढ पार्न निर्वाचन प्रक्रियामा सहभागी हुन पनि आग्रह गरे।

















