२ कार्तिक, काठमाडौँ । जेन-जी आन्दोलनको अव्यवस्थित परिस्थितिको मौका छोपेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरी वृत्त गौशालाले सिन्धुली स्थायी घर भई हाल काठमाडौंको रातोपुलमा डेरा गरी बस्दै आएका ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको जनाएको छ । गौशालास्थित प्रहरी वृत्तका एक अधिकृतका अनुसार थामीको साथबाट चोरीमा प्रयोग गरिएका सामग्रीसहित फ्रिज र उफर (ओभर) दुवै वस्तु बरामद गरिएको छ ।
प्रहरीका अनुसार थामीले गत भदौ २४ गते राति, जेन-जी आन्दोलनको क्रममा व्यापक तोडफोड र आगजनी भइरहेका बेला गगन थापाको निवास परिसरमा प्रवेश गरी चोरी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका थामीमाथि हाल विस्तृत अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
गएको भदौ २३ गते भ्रष्टाचारविरुद्ध सुरु भएको जेन-जी आन्दोलनमा राज्यपक्षबाट भएको दमनका क्रममा एकैदिन कम्तीमा २२ जनाको गोली लागी मृत्यु भएको थियो । त्यसको भोलिपल्ट आन्दोलन हिंसात्मक रूप लिँदै देशभर तोडफोड र आगजनीसम्म फैलिएको थियो ।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका केन्द्रीय कार्यालयहरू र स्थानीय तहका जनप्रतिनिधिका घरमा समेत आगजनी र तोडफोड भएका घटनाहरू त्यही क्रममा भएका हुन् ।
प्रहरीले हाल आन्दोलनको अव्यवस्थाको मौका लिएर चोरी, लूटपाट र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेहरूविरुद्ध काठमाडौं उपत्यकामा विशेष अनुसन्धान अभियान सञ्चालन गरेको जनाएको छ ।
















