Logo

५ कात्तिक,वीरगञ्ज । वीरगन्जको धार्मिक र सांस्कृतिक वातावरणलाई थप भक्तिमय बनाउँदै सिरडी साईं बाबा मन्दिर सेवा ट्रस्ट परिवारले मन्दिरको सातौँ वार्षिकोत्सव श्रद्धा, उत्साह र भव्यताका साथ मनाएको छ।

वार्षिकोत्सवको प्रमुख आकर्षणका रूपमा आयोजित पाल्की यात्रा ले सम्पूर्ण वीरगन्ज शहरलाई साईं भक्तिको रंगमा रंग्याएको थियो। साईं बाबाको पाल्की यात्रा गीता मन्दिर रोडस्थित मन्दिर परिसरबाट सुरु भई माईस्थान, अलखियामाठ, आदर्शनगर, मकालु होटल, घडिअर्वा चोक हुँदै पुनः मन्दिर परिसरमै फर्किएर सम्पन्न भएको थियो।

यात्राका क्रममा भक्तजनहरूले साईं भजन, कीर्तन, धूप, दीप र फूलमालासहित भक्तिभाव प्रकट गरेका थिए।

कार्यक्रमको नेतृत्व ट्रस्टका अध्यक्ष प्रवेश कुमार सरार्फ ले गरेका थिए। उनीसँगै उपाध्यक्ष सञ्जय प्रसाद कुश्वाहा, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष बासुदेव सहनी, सदस्यहरू मनोज कुमार रौनियार र राकेश कुमार लगायत ठूलो संख्यामा भक्तजनको सहभागिता रहेको थियो।

पाल्की यात्रापछि मन्दिर परिसरमा विशेष पूजाआजा र आरती कार्यक्रम सम्पन्न भएको ट्रस्टका अध्यक्ष सरार्फले जानकारी दिए।

वार्षिकोत्सव अन्तर्गत दिउँसो २ बजेदेखि भण्डारा (महाप्रसाद वितरण) कार्यक्रम सञ्चालन गरिएको छ भने साँझ सामूहिक सत्सङ्ग र भजन-कीर्तन कार्यक्रम गरिने आयोजक समितिले जनाएको छ।

सहभागी भक्तजनहरूले यस कार्यक्रमले वीरगन्जमा धार्मिक सद्भाव, सामाजिक एकता र सामूहिक सहभागिता को सशक्त सन्देश दिएको प्रतिक्रिया दिएका छन्।


सम्बन्धित समाचार